रैथाने बाली भन्नाले परम्परागत मूल्य मान्यता बोकेको कुनै ठाउँ विशेषको हावापानीमा पाइने र सामाजिक र आर्थिक मूल्य बोकेको बाली भनेर बुझ्न सकिन्छ । यी बालीहरू स्थानीय जलवायु, माटो, र पर्यावरणसँग राम्रोसँग अनुकूलित भएका हुन्छन्, र विशेष गरी स्थानीय जाति र समुदायहरूको खानपिनको परम्परासँग सम्बद्ध हुन्छन् । रैथाने बालीले विभिन्न रोग, कीरा, सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका बाली हो । यी गुणहरू बाली प्रजनन् तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । रैथाने बाली भित्र कोदो, जौ,कागुनो फापार, चिनो, लट्टे, पिँडालु आदि पर्दछन् । साथ–साथै धान, मकै,गहु तथा अन्य बालीका स्थानीय जातहरुलाई पनि यस अन्तरगत राखिन्छ । यस्ता बाली नेपालमा ३ लाख ५० हेक्टर क्षेत्रपÞmलमा खेति गरिन्छ । नेपालमा रैथाने बालीको क्षेत्रफल तथा उत्पादन दुवै घटिरहेको पाइन्छ ।
खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले यो बालीलाई संरक्षण गर्नुपर्दछ । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान सावित छ र बाली विविधीकरणका लागि महत्त्वपूर्ण मानिन्छन् । कृषि तथा पशुपंक्षी मन्त्रालय को तथ्याङ्क अनुसार नेपालका धनिमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारीमा १५ प्रतिशत मात्र रैथाने बीउ मार्फत खेती भइरहेको पाइन्छ ।
हिजोका दिन गरिब जनताको भान्सामा पाक्ने कोदो, चिनो, कागुनो आज भने शहरी क्षेत्रका महँगो महँगो होटेलमा खोजि खोजि खाने गरेको पाईन्छ । रैथाने बाली प्रवद्र्धनमा सरकारको पहल पर्याप्त छैन । उत्पादन बढाउन विकासे (उन्नत) जातलाई प्रवद्र्धन गरिंदा रैथाने जात ओझेलमा पर्दै गएको पाईन्छ । उन्नत जातका बालीले धेरै उत्पादन दिने भएकाले रैथाने बालीहरू लोपोन्मुख अवस्थामा पुगेको छ ।
धान जातिका रैथाने बाली अन्तर्गत मार्सी धान, पोखरेली जेठोबुढो, घैया धान, जोरायल बासमती, मन्सुली, मनहरा, तिल्की, मानामुरी, ठिमाहा, अनदी, लक्का बास्मति आदि देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन् ।
रैथानेबालीका विशेषताहरुः
रैथाने बालिले जैविक विविधता कायम राख्न मद्दत गर्दछन, किनभने यिनीहरूमा धेरै प्रकारका आनुवंशिक विशेषताहरू हुन्छन् जसले रोग, किरा, सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टिहरू प्रतिरोधी बनाउन मदहत गर्दछ । उन्नत बाली तथा जातभन्दा रैथाने बालीहरुले कम मेहेनत र स्याहारसुसारमा पनि राम्रो उत्पादन दिन्छन् । यी बालीहरुबाट उत्पादित उपजहरु लामो समयसम्म भण्डारण गर्न सकिने, चाडैँ नबिग्रने र खानमा पनि स्वादिला हुन्छन् । यी बालीहको समुदायमा धार्मिक तथा साँस्कृतिक महत्व पनि रहेको हुन्छ । अन्य बालीहरुको तुलनामा रैथाने बालीहरु बहुउपयोगी हुन्छन् । यस्ता बालीहरुमा मानव शरीरमा चाहिने पौष्टिक तत्वको जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन मात्रा बढी हुन्छ । रैथाने बालीमा जलवायु परिवर्तनको असर अन्य उन्नत बाली तथा जातको तुलनामा स्थिर पाइएको छ ।
किन रैथाने बालीको प्रयोग घट्दो दरमा छ ?
१९६० को हरित क्रान्ति (Green Revolution) ले अधिक उत्पादन दिने एकल बालीको खेति प्रवद्र्धन, आत्याधिक बिषादी, उन्नत जातको प्रयोगले उत्पादन त बढ्यो तर जैविक विविधता घट्नुको साथसाथै वातावरण प्रदुसित र विभिन्न किसिमका रोगहरु फास्टाए । नेपालमा भने वर्णशंकर बीउ भित्रिन्न थालेको १९९० देखि मात्र हो । यी जातका बिउ भित्रिएसंगै रैथाने बालीको प्रतिस्थपना हुदै गएको थियो तर पछिलो समयमा फेरी रैथाने बालीप्रति विश्वव्यापी रूपमा चासो र आकर्षण बढ्दै गएको छ ।
उत्पादन लागत बढी, थोरै फल्ने, पाक्नलाई बढी समय लाग्ने, बजारीकरणको ज्ञान, क्षमता र पहुँचको कमी, बिउ पाउन मुस्किल हुने आदि कारणले गर्दा यसको अस्तित्वमाथि नै सङ्कट देखापरेको हो । पौष्टिक तत्वका सम्बन्धमा चेतनाको कमी, बदलिँदो आहार व्यवहारले गर्दा रैथानेका परिकारको उपभोगमा कम प्रयोग हुनेगरेको छ । ग्रामीण क्षेत्रहरूबाट जनसंख्या शहरतर्फ विस्थापित हुँदा खेतीयोग्य जमिनको अभाव हुँदै जानु र बाँकी रहेको जमिनमा बढी मात्रामा उन्नत बाली लगाउने चलनले गर्दा रैथाने बालीहरूको खेती घट्दै गएको पाईन्छ । नयाँ पुस्तामा परम्परागत ज्ञान र रैथाने बालीहरूको महत्त्वको ज्ञान कमी हुँदै जानुले पनि यसको खेति दरमा कमि आएको छ ।
रैथाने बालीको प्रवद्र्धन कसरी गर्ने ?
१. तालिम र प्रचारः किसानहरूलाई रैथाने बालीहरूको महत्त्व, तिनको आर्थिक लाभ, र खेतीका लागि आधुनिक तरिकाहरूको प्रयोगबारे तालिम दिनुपर्छ । कृषि विकास कार्यलय, प्रधानमंन्त्री कृषि आधुनीकीकरण परियोजना, कृषि विकास शाखाहरूमा रैथाने बालीहरूको विशेष महत्त्वबारे तालिम र प्रचार गर्नुपर्छ ।
२. सामुदायिक बीउ बैंकहरूको स्थापनाः सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो तर्फबाट रैथाने बालीहरूको संरक्षणका लागि सामुदायिक बीउ बैंकहरू स्थापना गरिनुपर्छ । यसबाट किसानहरूलाई विभिन्न रैथाने बीउहरू उपलब्ध गराउन सजिलो हुनेछ, र परम्परागत बालीको संरक्षण र प्रयोगलाई निरन्तरता दिन मद्दत पुर्याउँछ ।
३. सरकारद्वारा प्रोत्साहन कार्यक्रम सिर्जनाः सरकारले रैथाने बाली खेति गर्ने किसानलाई अनुदान, बीमा, र सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ साथै–साथै स्पष्ट नीतिहरू बनाउनुपर्छ ।
४. बजार पहुँचः स्थानीय र राष्ट्रिय बजारहरूमा रैथाने जातको नाममा उन्नत जातका अन्न महँगो मुल्यमा बेचेको पाईन्छ । अर्ग्यानिक चिन्हको प्रयोग गरि बेच्दा उपभोक्ता आकर्षित गर्दछ । साथ– साथै “Eat clean and green, Eat organic” जस्ता नारा सहित माग बढाउन अभियान चलाउन सकिन्छ ।
यसका साथै अरु रैथाने बालीको सांस्कृतिक महत्त्वको प्रचार, यसमा पाइने पोषण तत्वको ज्ञान, स्थानीय भोजनलाई प्रवद्र्धन गर्ने अभियान आदि चलाउन सकिन्छ ।
निष्कर्षः
रैथाने बाली सांस्कृतिक सम्पदा, खाद्य सुरक्षा, र दिगो कृषिलाई समर्थन गर्ने बहुमूल्य सम्पत्ति हुन् । यिनीहरूको आनुवंशिक विविधता बाली सुधार, वातावरणीय अनुकूलन, र सांस्कृतिक र पोषण मूल्यको लागि महत्त्वपूर्ण छ । त्यसैगरि रैथाने बालीको मानिसहरूमा धार्मिक वा आध्यात्मिक विश्वासहरू छन् । यिनमा पाइने सूक्ष्म पोषक तत्व एवं फाइबर आदि पाचन प्रणालीमा सुधार; मुटुको स्वास्थ्य, मधुमेह, उच्च रक्तचाप र शारीरिक तौल व्यवस्थापनको साथै तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको लागि समेत उपयोगी हुने पाइएको छ ।
लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस