ढुंखर्क / काभ्रेको बेथानचोकमा “श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव” हुने भएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कको २० औं बार्षिकोत्सवको अवसरमा चैत्र २७ गते देखी वैशाख ३ गतेसम्म ढुंखर्कमा श्रीमद् तारतम सागर १०८ पाठ पारायण तथा श्रीकृष्ण कथा ज्ञान महायज्ञ (श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव २०८२) हुन लागेको हो ।
बेथानचोक गाउँपालिका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्नुका साथै वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको अभिवृद्धि, नैतिक मूल्य–मान्यताको प्रवर्द्धन तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै समाजमा आध्यात्मिक जागरण फैलाउने उद्देश्य सहित श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव २०८२ को आयोजना गरिएको छ ।
धर्म जागरण महोत्सवको अवसरमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य तथा वर्तमान सतगुरु स्वरूप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजबाट नवनिर्मित मन्दिरको कलश अनावरण गगरिने श्रीमत्तारतम सागर १०८ पाठपारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ मूल समारोह समितिका सह संयोजक भिमसेन तिमल्सिनाले जानकारी दिनुभयो ।
महोत्सव अवधिमा नेपालको केन्द्रीय धाम श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वद प्रदान तथा महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजीबाट दिव्य कथा वाचन तथा प्रवचन हुने कार्यक्रम रहेको छ ।
१०८ कलशसहित शोभायात्रा सहितस सुरू गरिने धर्म जागरण महोत्सवमा तारतम सागर पाठ पारायण, रक्तदान कार्यक्रम, व्रतबन्ध, दैनिक वैदिक अनुष्ठान, भजन–कीर्तन, सत्सङ्ग, निःशुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने धर्म जागरण महोत्सव २०८२ को सचिवालय सचिव रामशरण तिमल्सिनाले बताउनु भयो ।
धर्म जागरण महोत्सवको प्रचार प्रसार, कार्यक्रम स्थलको ब्यवस्थापन लगायत सबै कार्यहरू तिव्र रूपमा तयारी भैरहेको छ । महोत्सवको प्रचार प्रसारको लागिचैत २६ गते बनेपाको नयाँबस्तीबाट ढुंखर्कसम्म मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । यस्तै चैत २७ गते १०८ कलश शोभायात्रासहित तारतम सागर पाठ पारायण गरिने कार्यक्रम छ भने चैत २८ गते रक्तदान कार्यक्रम, चैत ३० गते मन्दिरको कलश अनावरण तथा वैशाख १ गते सामूहिक व्रतबन्धको कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस