दशैंमा सर्वाधिक भिड लाग्ने काभ्रेका प्रसिद्ध धार्मिक गन्तव्य

Post Thumbnail
  • २०७९ आश्विन १६, आईतबार मा प्रकाशित १ साल अघि
  • ३३६ पाठक संख्या

  • नेपालमा मान्छेभन्दा धेरै मूर्तिहरु र घरभन्दा धेरै मठ मन्दिरहरु छन् । यहाँ आउने विदेशी पर्यटकहरुले वर्णन गर्ने वाक्य हो यो। हुन पनि यहाँ विभिन्न जात जाती र सम्प्रदायका मानिसहरुका आफ्नै संस्कृती र रितीरिवाजहरु छन्। मठमन्दिरहरु पनि उस्तै छन् यी मन्दिरहरुमा सधैंजसो मेला र उत्सवहरु हुने गर्दछ। यसैबीचमा हाम्रो मौलिक चार्ड दशैं आइपुगेको छ। यसपटक हामीले दशैंमा काभे जिल्लामा रहेका मन्दिरहरुमा भक्तजनहरु धेरै जाने र आगामी दिनमा पनि उपस्थिती रहने केही मन्दिरहरुको चर्चा गर्ने प्रयास गरेका छौं।

    पलाञ्चोक भगवती

    पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साविक साठीघर भगवती गाविस (हाल पाँचखाल नगरपालिका) मा अवस्थित छ। काभ्रेको पाँचखालबाट ९ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती र पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ।

    काभ्रेपलाञ्चोक जिल्ला , पाँचखाल नगरपालिका , वडा नम्बर ९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिर संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा स्थापित भएको हो । मध्यकालमा यो स्थान एउटा प्रमुख गढको रूपमा परिचित थियो । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने लिच्छविकालिन किंवदन्तीहरुमा उल्लेख भएको पाइन्छ । पलाञ्चोक भगवतीको मुर्ति बनाउने मुर्तिकारको दाइने हात काटिएको कारण नक्साल भगवती देब्रे हातले बनाएका थिए भने देब्रे हातपनी काटिएपछी शोभा भगवती खुट्टाले बनाएका भन्नेकुरा तत्कालीन अभिलेखहरुमा पाइन्छ।

    हाल पलाञ्चोकमा रहेको मन्दिर स्थापना हुनु अगाडी त्यसको सिला काभ्रे जिल्लाको बुचाकोटमा थियो । बुचाकोट बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन् । स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर लान खोज्दा उठाउनै नसकेपछी सोही स्थानमा स्थापना गरियो भन्ने एउटा भनाइ छ भने अर्को रोचक पक्ष एक स्थानीय पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे । उनले आजको व्यापार नाफा भएको खण्डमा भगवतीलाई घण्टी चढाउने बाचा गरेका थिए रे । सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए । आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए । सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ । अहिलेपनि मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ । सो डाँडालाई भगवतीको फूलबारी भनिन्छ । यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ ।
    यस मन्दिरमा दशैंमा विशेष मेला लाग्ने गरेको छ। घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म नै भक्तजनहरुको बाक्लो भिड रहने यो मन्दिरमा जान आउन मोटरबाटोको राम्रो सुविधा छ।

    चण्डेश्वरी मन्दिर

     

    चण्डेश्वरी मन्दिरको मूख्य मन्दिर काभ्रेको बनेपामा छ। तर यसका अन्य मन्दिरहरु काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेका छन् । मूलमन्दिरमा जान नसक्नेहरुले चण्डेश्वरीका विभिन्न प्रतिमाहरु काठमाडौंका चोक चोकहरुमा प्रतिश्थापन गरेको पाइन्छ। धेरैजसो नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एक जाती देवीको रूपमा पुज्दछन् ।

    यो मन्दिर नेपाली मौलिक प्यागोडा शैलीमा निर्माण गरिएको छ। यस मन्दिरमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरबको मूर्ति रहेको छ। यस मन्दिरमा पाँचौँ शताव्दीको हाराहारीमा बनाइएको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन् । यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्व दिइएको छ। चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ। यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिँदै आइएको छ। यहाँ पनि दशैंको समयमा भक्तजनहरुको धेरै नै भिड लाग्ने गर्दछ।

    नाला भगवती

    नाला शहर प्राचीन एवम् ऐतिहासिक महत्वको शहर हो । अपितु यो शहर लिच्छवि कालदेखि नै अस्तित्वमा रहेको उग्रचन्डी भगवतीको मन्दिरमा रहेको शिलालेखबाट पुष्टि हुन्छ । मन्दिरको निर्माण भने मल्लकालमा नै भएको हो ।

    नेपालमा मूलतः चार वटा भगवतीहरू शक्तिपिठका रूपमा प्रसिद्ध छन् । ती हुन्– काठमाडौको बिष्णुमती नदीको तटमा रहेको शोभा भगवती, काठमाडौंकै नक्सालमा रहेको नक्साल भगवती मन्दिर, काभ्रेपलाञ्चोक जिल्लाको नालाशहरमा रहेको उग्रचण्डी भगवती र काभ्रेपलाञ्चोकमै अवस्थित पलान्चोक भगवती मन्दिर । यी चार भगवतीहरू आपसमा दिदी–बहिनीहरू हुन् भन्ने जनश्रुति रहेको छ । यी चार भगवतीमध्ये उग्रचण्डी नाला भगवतीको बारेमा यहाँ परिचयात्मक विश्लेषण गर्ने जमर्को गरिएको छ ।

    मल्लकालीन राजा जय जगतप्रकाश मल्लको शासनकालमा उग्रचण्डी भगवतीको चारतले मन्दिर विभिन्न चरणमा निर्माण भएको पाइन्छ । नेपाल सम्वत् ७६१ मा पहिलो तला, नेपाल सम्वत ७६३ मा दोश्रो तला र नेपाल संवत ७६७ मा तेश्रो एवम् चौथो तला निर्माण भएको हो भन्ने उल्लेख छ । मन्दिरको सिरान स्वर्णमय गजुरबाट सुशोभन गरिएको छ । अवलोकनमा अत्यन्तै मनमोहक दृश्य, स्वर्णमय भगवतीका मूर्तिहरूलाई पर्वहरूमा पूजाआजा गर्ने, शहर परिक्रमा गराउने चलन नालाका आदिवासी श्रेष्ठ थरका (किसी) नेवारहरूले आरम्भ गरेका हुन् भन्ने किंवदन्ती अद्यापि पाइन्छ ।

    उग्रचन्डी भगवती साक्षात रूपमा उत्पति भइ एउटा ठूलो ढुङ्गामाथि बसेर त्यहीँ अन्तरध्यान भएको र पछि तत्कालीन शासकले उक्त ढुङ्गालाई उग्रचन्डी भगवतीको प्रस्तर मूर्ति कुद्न लगाइ प्राणप्रतिष्ठा गरेका थिए भन्ने जनश्रुति छ ।

    नालाशहर प्राचीन कालदेखि नै तान्त्रिक विद्याका लागि प्रख्यात मानिन्छ । खासगरी नालाका ज्ञानसिंह कर्माचार्य तन्त्रविद्याका विख्यात पण्डित मानिन्थे । तन्त्रविद्यामा यी पारंगत नै थिए । तान्त्रिक साधनाबाट यिनी लोप भएका र हालसम्म पनि हराइरहेको किंवदन्ती छ । तन्त्रविद्यामा नालाका कर्माचार्यहरू अति पोख्त थिए भन्ने भनाइ अद्यापि छ ।

    माता उग्रचन्डी भगवतीलाई प्रत्येक वर्ष विजयादशमीको नव रात्रीभर धुमधामका साथ पूजाआजा गरी ‘नरिवल बली’ एवम् पशुवली दिने प्रचलन थियो । पशुबली दिने प्रचलन समयअनुसार क्रमशः लोप हुँदै गएको छ भने नरिवल बली, कुभिन्डो बली दिने एवम् रातो वस्त्र फूलहरू चढाउने प्रचलनले महत्व पाउँदै गएको छ ।

    यी सँगै नमोबुद्ध ५ कोटतिमालमा रहेको रक्तकालिका मन्दिर र नमोबुद्ध २ मा रहेको बुचाकोटमा नवरात्रीभर भक्तजनहरुको विशेष उपस्थिति रहन्छ ।

    प्रतिक्रिया दिनुहोस