नाबालिग किशोरीमाथि जर्बजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी जारी भएको २४ घण्टा कटिसक्दा पनि उनी प्रहरीलाई छल्दै भागिरहेका हुन्।
‘शाहलाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने, ‘अहिलेसम्म पक्राउ परेका छैनन्। तर, चाँडै पक्राउ पर्छन्। पक्राउ गरेरै छाड्छौं।’
बुधबार पलविरुद्ध नाबालिक गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिउँसो करिब १२ बजेतिर जाहेरी दर्ता गराएका थिए। पीडित परिवार सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले पीडित परिवारलाई तनहुँ पठाएको हो।
तनहुँको अदालतबाट बुधबार नै पक्राउ पुर्जी जारी भएपछि काठमाडौंमा रहेका पललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय तनहुँले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सहयोग मागेको छ। बुधबार साँझ नै अभिनेता पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को काठमाडौंस्थित कीर्तिपुरमा प्रिमियर भएको थियो।
‘पल प्रिमियरमा आउने तयारीमा थिए। त्यहीँबेला उनीविरुद्ध जोहरी परेको र प्रहरीले खोज्दै गरेको खबर आयो, त्यसपछि उनी कार्यक्रममा आउन सकेनन्, अहिलेसम्म सम्पर्कविहीन छन्,’ फिल्म निकट श्रोतले भन्यो।
प्रहरीले पलको फोन निरन्तर ट्यापिङमा राखिरहेको छ, त्यही पनि उनी कहाँ छन् पत्ता लगाउन सकेको छैन। ‘हिजो रातभर खोज्यौं तर पक्राउ गर्न सकिएन,’ काठमाडौं प्रहरी श्रोतले भन्यो, ‘एकपटक पलका म्यानेजरले एक ठाउँमा बोलाए, त्यहाँ जाँदा उनले पललाई भगाइसकेछन्। लोकेसन ट्याप गर्द राजधानीमै रहेको देखाउँछ।’
फिल्मका हिरोलाई रियलमा भेट्न नै सकस भएपछि प्रहरीले उनको खोजीमा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुसँग पनि सोधपुछ गरिरहेको छ। फरार अवस्थामै पलले बिहीबार बिहान केही गोप्य अडियोसहित आफूमाथि षड्यन्त्र भएको स्टाटस सार्वजनिक भएपछि खोजीमा जुटेको प्रहरी झन् तनावमा परेको छ।
आफूलाई साथी दुर्गेश थापा, ठूल्दाई सरोज ओली, भाइ कृष्ण जोशी र गायक सम्राट चौलागाईले षड्यन्त्र गरेर फसाएको आरोप पलले लगाएका छन्। तर, उनले सार्वजनिक गरेको अडियोले उनले नाबालिगमाथि यौनजन्य गतिविधि गरेको हो भन्ने तथ्य झन् प्रमाणित हुन पुग्छ।
‘आफूविरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीबाट भाग्दै जथाभावी रूपमा अडियो र स्टाटस लेख्नु उनको अर्को महाभुल हो,’ काठमाडौंका एक प्रहरी अधिकृत भन्छन्, ‘उनले आफ्ना फ्यानहरूको सेन्टिमेन्ट बटुल्न यस्तो गरेको देखियो। तर यो त उनले आफूविरुद्ध लागेको आरोप आफैं प्रमाणित गरेको हुन जान्छ।’
उता गायक दुर्गेश थापा आफ्नो गल्ती छल्न पलले आफूहरूमाथि आरोप लगाएको बताएका छन्। ‘पलले धोका दिएको भन्दै एउटी नाबालिग किशोरी हाम्रो शरणमा आउँदा हामीले उहाँलाई सपोर्ट गरेका हौं। त्योभन्दा थप अरु केही नियत होइन, समय आएपछि बाँकी धेरै कुरा खुल्दै जाला’ उनले भने।
पल खोज्दै कहाँ-कहाँ पुग्यो प्रहरी ?
बिहीबार बिहानै आफूविरुद्ध षड्यन्त्र भएको स्टाटस र अडियो सार्वजनिक गरेपछि पलले आरोप लगाएकामध्ये एक गायक सम्राट चौलागाईलाई सम्पर्क गरेका थिए। त्यतिबेला उनले सम्राटसँग फोनमा भने, ‘मलाई बचाउनुपर्यो।’
पलको सम्राटसँग फोन सम्पर्क भएको देखेपछि उनलाई खोजिरहेको प्रहरी टोली दिउँसो १२ बजेतिर रातोपुल पुग्यो, उनलाई भेट्न। ‘पललाई खोज्ने क्रममा हामीले सम्राट, दुर्गेश थापालाई भेटिसक्यौं। तर अझै पललाई भेट्न सकेका छैनौं,’ प्रहरी श्रोतले भन्यो।
पल शाहले बिहीबार बिहान ६ वटा अडियोसहित एक्कासी एउटा फेसबुक स्टाटस सार्वजनिक गरे। स्टाटसमार्फत आफ्ना प्रशंसकलाई आफूतिर तान्न उनले आफूमाथि षड्यन्त्र भएको इमोसनल कार्ड फ्याँके।
पललाई देउता मान्ने कतिपय फ्यानहरुले त उनको दाबी पत्याए पनि होलान् तर एउटा नामले भने प्रहरीदेखि मनोरञ्जनवृत्त, सबैतिर आश्चर्य जगायो। त्यो नाम थियो कृष्ण जोशी अर्थात् पलका म्यानेजर।
कारण, जसलाई पल आफूलाई फसाउने षड्यन्त्रकारीको सूचीमा राखिरहेका थिए, खासमा पलका तर्फबाट पछिल्लो समय निरन्तर पीडित नाबालिगलाई धम्क्याउने काम उनैले गरिरहेका थिए।
त्यति मात्रै होइन बुधबार साँझ काठमाडौं प्रहरीले पललाई पक्राउ गर्न उनीसँग सम्पर्क गरेको थियो। तर, उनैले प्रहरीलाई चक्मा दिएर पललाई भगाइदिए।
‘हामीलाई एक ठाउँ बोलाएर पललाई अन्तै भगाएछन्, पललाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गर्ने सर्कुलरपछि निरन्तर खोजीमा जुटिरहेको काठमाडौं प्रहरी स्रोतले भन्यो, अहिले त पल मात्रै होइन, ती म्यानेजर पनि मोबाइल अफ गरेर लुकिरहेका छन्। तर, केही छैन हामी जहाँ लुके पनि समातेरै छाड्छौं।’
किन आयो म्यानेजरको नाम ?
बिहीबार नै पीडित परिवारको अनुमान थियो पलले अहिले आफ्नो सबैभन्दा नजिक रहेका म्यानेजर जोशीको नाम पनि षड्यन्त्रकारीको सूचीमा राख्नुको पछाडि पक्कै केही न केही षड्यन्त्र छ।
बिहीबार बिहान अडियो सार्वजनिक गरेलगत्तै पलले षड्यन्त्रकारीको आरोप लगाएका मध्येका एक सम्राट चौलागाईलाई फोन गरेर, जे भने त्यसले पनि यो अनुमानमा बल पुर्याएको थियो। पलले सम्राटलाई फोन गर्दै ुमलाई बचाउनुपर्छ, हामीले षड्यन्त्र गरेको हो भनेर तिमीले स्वीकार्नुपर्छ भन्दै सम्राटसँग सहयोग मागेका थिए। जवाफमा सम्राटले मेरो नाम चाँहि किन राखेको भन्दै पलसँग गुनासो पोखेका थिए।
गुनासो पोख्नु स्वभाविक थियो। किनभने पलले बिहीबार अनामनगरको एक रेस्टुरेन्टमा सम्राटसमेत सम्मिलित भएको जुन अडियो सार्वजनिक गरे, त्यो खासमा उनैले रेकर्ड गरेका थिए। सम्राटका अनुसार रेकर्ड गरेको अडियो उनले पलका नजिक रहेका एक पत्रकारलाई उपलब्ध गराएका थिए। तिनै पत्रकारमार्फत् त्यो अडियो पलसम्म पुगेको थियो।
खासमा फरार रहेका पलले सम्राटसँग गरेको फोन संवाद अहिलेसम्म गोप्य नै हुने थियो, यदि प्रहरी सम्राट खोज्दै रातोपुल नपुगेको भए। तर, निरन्तर पलको फोन ट्रयाक गरिरहेको प्रहरीले सम्राटसँग सम्पर्क गरेको पाएपछि उनलाई पलबारे सोधपुछ गर्न पुगेको थियो। त्यही क्रममा प्रहरीले दुर्गेश थापा र सरोज वलीलाई पनि अभिनेता पल शाह लुकेको ठेगाना पत्ता लगाइदिन सहयोग मागेको थियो।
पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी नाटकीय शैलीमा प्रस्तुत भएका छन्।
के छ जाहेरीमा ?
बुधबार प्रहरी कार्यालयमा पीडित किशोरीले दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जर्बजस्ती करणी गरेको आरोप छ।
पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँसमेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।
पीडितका बुबाले दिएको जाहेरीमा पलले २०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउँदा गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा ती किशोरीको संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि सवार थिए।
त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिक बसेको कोठामा गएर ललाइफकाइ बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जर्बजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।
सजाय के हुनसक्छ ?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
नेपाल समय अनलाईनको सहयोगमा तयार पारिएको रिपोर्ट
तस्वीर पल शाहको फोसबुक पेजबाट
प्रतिक्रिया दिनुहोस