विभिन्न कार्यक्रम गरी बिन्धवासिनी साकोसले मनायो ३३औं स्थापना दिवस

  • २०८२ फागुन ६, बुधबार मा प्रकाशित २ दिन अघि
  • ३० पाठक संख्या

  • *निःशुल्क रगत उपलब्ध सम्बन्धी सम्झौता  * सम्मान तथा पुरस्कार वितरण

    बनेपा/काभ्रे, भक्तपुर, काठमाडौ र ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न कार्यक्रम गरी ३३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले दलित शैक्षिक छात्रवृति वितरण, सम्मान तथा पुरस्कार वितरण, खुल्ला रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता,नेतृत्व तथा क्षमता विकास तालिम, वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    शेयर सदस्यहरुको हितमा संचालित यस संस्थाले सदस्य र सदस्यहरुको परिवारलाई जन्मदेखी मृत्युसम्मका लागि उपयोगी सेवा प्रदान, सहकारी मूल्य मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरु संचालन गर्दै आएको बिन्धवासिनी साकोसले स्थापना दिवसका अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाको सेवा कार्यालय व्यवस्थापन उप समितिमा रहेर कार्य सेवा गर्नु भएको पूर्व पदाधिकारी तथा सदस्य र संस्थासंग समन्वय गरी विभिन्न कार्यक्रममा सहयोग पु-याउने सहयोगी संघ संस्थाहरुलाई सम्मान गरेको छ । यसै अवसरमा संस्थाका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मालाई सम्मान गरेको छ ।

    आर्थिक बर्ष २०८१/८२ मा संस्थाको उल्लेख्य लक्ष्य तथा प्रगती हाँसिल गर्न सफल बनेपा सेवा कार्यालयलाई उत्कृष्ट कार्यालय तथा पाँचखाल कार्यालयका कार्यालय ब्यवस्थापक सुरज अधिकारी, मुख्य कार्यालयको लेखा तथा प्रसासन सहायक सविता भण्डारी कोइराला र खोपासी कार्यालयका कार्यालय सहयोगी सोवितिा सोविता लामिछाने न्यौपानेलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्थामा २० बर्ष सेवा अवधि पुगेका वरिष्ठ सहायक दिपक गुरागाई र सहायक नमराज तिमल्सिनालाई चाँदीको मेडल सहित दिर्घ सेवा पदकद्वारा सम्मान गरिएको छ ।

    संस्थामा आवद्ध शैक्षिक बालबचतकर्ताहरुको सक्रियताका लागि शिक्षा तथा तालिम उप समितिको आयोजनामा हुने आजको आवश्यकताः सहकारी शिक्षा बिषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अञ्जली काफ्ले प्रथम, नितेश चिमौरीया द्वितीय, अनुस्का गिरी तृतीय र आचल खड्काले सान्त्वना पुरस्कार हाँसिल गरेका थिए ।

    स्थापना दिवसको अवसर पारेर बिन्धवासिनी साकोस र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाबिच निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ र र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा देवेन्द्रप्रसाद भैलद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा बिन्धवासिनी साकोसका सदस्यहरु अस्पताल भर्ना भई रगत आवश्यक परेमा निःशुल्क रगत उपलब्ध गराउने उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस