२०८३ आश्विन २४, शनिबार  | Sat, 10, Oct, 2026

मनकामना सहकारीको ३१औँ साधारण सभा सम्पन्न

  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित १२ घण्टा अघि
  • ७५ पाठक संख्या

  • बनेपा/काभ्रेको बनेपास्थित श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२, २३ र २४ गते चरणबद्ध रूपमा सञ्चालन भएको सभाको समापन शनिबार पञ्चकन्या ब्याङ्क्वेटमा भएको हो।

    संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०५२ सालमा २६ जना सदस्यबाट सुरु भएको संस्थामा हाल १० हजार ५४४ शेयर सदस्य छन्। आर्थिक वर्ष २०८२/८३ सम्म संस्थाको कुल वासलात २ अर्ब ३० करोड ५२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। संस्थाको बचत १ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ र ऋण लगानी १ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

    सभामा सचिव नवराज आचार्यले सचिवको प्रतिवेदन र कोषाध्यक्ष विकास शर्मा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    समापन कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता तथा एसईई उत्तीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो। त्यस्तै, बनेपा हेल्थ केयर प्रालिलाई कदरपत्र, वरिष्ठ लेखा अधिकृत श्रीजना पराजुलीलाई उत्कृष्ट कर्मचारी र बेथानचोक सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्रका रूपमा सम्मान गरिएको थियो।

    निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष घिमिरेले संस्थाको ३१ वर्षे यात्रामा सहयोग गर्ने सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    ↑