२०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर, अन्य खाद्यान्नको साटो भात खाने संस्कार बढ्दै गएपछि नेपालले अहिले वर्षमा करिब आधा खर्बको धान चामल र यसको बिउ आयात गर्ने अवस्थामा आइपुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गरिरहेको छ । बितेको ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान–चामल र धानको बिउ आयात भएको छ ।
२८ अर्ब ५० करोड रुपैयाँको चामल, १५ अर्ब ९२ करोडको धान र ८७ करोड ५ लाख रुपैयाँको धानको बिउ नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मात्रै झण्डै ५ लाख ३८ हजार मेट्रिक टन धान नेपाल भित्रिएको छ । धान मात्रै ५ लाख ४० हजार मेट्रिक टन आयात भएको छ ।
कनिका मात्रै १ अर्ब ३८ करोड मूल्यको ९६ हजार ५०० मेट्रिक टन आयात भएको छ । प्रायः कनिका दाना उद्योगहरुले ल्याउने गरेका छन् । यस्तै घरेलु मदिरा बनाउन पनि यसको प्रयोग हुने गरेको पाइन्छ । समग्र चामल आयातबाट सरकारले ११ महिनामा २ अर्ब ७५ करोड बढी राजस्व असुलेको छ ।
भन्सार विभागका अनुसार ०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको तथ्यांक छ ।
तर, पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् । सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम किसिमका चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छन् ।
नेपालमा मागअनुसार उत्पादन नहुने र बाढी, मल अभाव र प्रकोप लगायतका कारणले उत्पादन घट्ने अवस्था देखिएको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।
२०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टनमा झरेको छ ।
अर्थविद डा. शिवराज अधिकारी उत्पादन घट्नुलाई मात्रै आयात बढ्नुको कारण मान्दैनन् । उनका अनुसार बजारमा नेपालमा उत्पादन हुनेभन्दा राम्रो गुणस्तरको चामलको माग बढेको बताउँछन् । ‘अब नेपालमा कति धान उत्पादन हुन्छ र कति माग छ भनेर किलोग्राममा हेरेर हुँदैन,’ उनी भन्छन्, ‘अब नेपालीले खाने खालकै धान यहाँ उत्पादन गर्नेतर्फ पनि लाग्नुपर्छ ।’
अहिले विदेशी चामल आयात बढेका कारण नेपाली धान र चामल प्रतिस्पर्धा गर्न नसकेर आन्तरिक बजारमै ‘हेपिएका’ छन् । गाउँघरमा ढिँडो र च्याँख्लाको खान्कीलाई भातले नै विस्थापित गर्दै लगेको छ ।
डा। अधिकारीका अनुसार खेतहरु मासेर घडेरी बनाउने प्रवृत्तिले पनि धानको उत्पादन सम्भाव्यताअनुसार बढ्न सकेको छैन । ‘जमिन टुक्रिन थालेका छन्,’ उनी भन्छन्, ‘यसले उत्पादन घटाउन बल दिन्छ, अन्तमा त्यसले परनिर्भरता नै बढाइदिन्छ ।’
अहिले चामलको मागसँगै आयात बढ्दो छ । नेपालमा मुख्यरुपमा भारतबाटै धान र चामल भित्रिन्छ । तर, अन्य देशहरुबाट महँगा मूल्यका चामल समेत आउने गरेका छन् ।
जनसंख्या र मागमा भएको वृद्धिअनुरुपको उत्पादन नहुँदा नेपाल चामलमा समेत परनिर्भरताको मार्गमा अघि बढेको धेरैको तर्क छ ।
धान दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि चामल आयात र यसको संस्कृतिबारे चर्चा भयो । कार्यक्रममा बोल्दै गर्दै कृषिमन्त्री महेन्द्र राय यादवले मसिनो चामल खाने बानीले धान चामलको आयात बढेको बताए । ‘आम मानिसको स्वास्थ्य र अर्थतन्त्रमा पनि मसिनो चामलले असर गर्दैछ,’ मन्त्री यादवले थपे, ‘अहिले विज्ञले पनि मोटा चामल खान भन्छन् । हामीले पहिले पहिले मोटा चामल अधिक खाँदा यसारी चाम पनि आयत हुने थिएन ।’
कृषि सचिव डा। गोविन्द शर्मा भात खाने संख्या बढेको र त्यसैअनुसार उत्पादनमा योगदान कम भएको बताउँछन् । धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव शर्माले पहाड छोडेर मानिसहरु सहर पस्दा पहाडका धेरै जमिनमा खेती हुन नसकेको र तराईमा पनि जग्गाको खण्डीकरण बढेको बताए । यसमा नेपाली समाजमा विस्तार भएको ‘भात नै खाने संस्कार’ पनि प्रमुख कारण भएको अर्थविद्हरु बताउँछन् ।
पहिले भात खान पनि दशैं कुर्नुपर्ने अवस्था थियो । खाडीमा युवाले मिहिनेत गरेर रेमिट्यान्स पठाउन थालेपछि जीवनशैलीमा आएको परिवर्तनले चामलको आयात बढाएको हो ।
परिवारलाई मिठो खुवाउने अभिलाषाले कामका लागि विदेशिएका युवाले पठाएको रेमिट्यान्सका कारण पनि चामलको आयात बढाएको अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘पहिले भात खान पनि दशैं कुर्नुपर्ने अवस्था थियो,’ उनी भन्छन्, ‘खाडीमा युवाले मिहिनेत गरेर रेमिट्यान्स पठाउन थालेपछि जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो अवस्था आएको हो ।’
अर्थविद डा. अधिकारी निर्माणाधीन सिंचाइका ठूला परियोजनाहरु बेलैमा सम्बोधन गरेर आन्तरिक रुपमा धान उत्पादन बढाउँदै लैजान सरकारलाई विज्ञहरुको सुझाव दिन्छन् ।
‘धान उत्पादन बढाउन सकिने खालका राष्ट्रिय गौरवका सिंचाइ आयोजनाहरु १० वर्षसम्म सम्पन्न नभएर अल्झिएका छन्,’ उनी भन्छन्, ‘सरकारले यस्ता सिंचाइ आयोजनाहरुलाई महत्वका साथ छिटो सम्पन्न गर्न जोड दिनुपर्छ ।’ नेपालबाट धान–चामल आयातका नाममा ठूलो मात्रामा विदेशी मुद्रा प्रयोग गर्ने तर त्यसअनुसार आयात नै नगर्ने अवस्था समेत हुनसक्ने उनको आशंका छ ।
पोषण मामिलाका जानकारहरु चामल आयातको तथ्यांक हेरेर आयात नकारात्मक रुपमा मात्रै विश्लेषण गर्न नहुने बताउँछन् । नेपालबाट चामल निर्यात हुने समयमा नेपालमै कुपोषण र भोकमरीको समस्या ब्याप्त रहेको तथ्य भुल्न नहुने उनीहरुको भनाइ छ ।
मानव विकासका विभिन्न पााटोमा नेपालले विस्तारै सुधार गर्दै लगेकाले आधारभूत खाद्यान्न चामलको प्रयोगमा भएको वृद्धि पनि त्यसको संकेतका रुपमा देखिएको पोषणविद्हरुको तर्क छ ।
पछिल्लो समयमा नेपाली बजारमा पोलिस गरिएको चामलको माग बढ्दैछ । यस्तो चामल विशेषगरी मध्यम वर्गीय धनाढ्य वर्गले रुचाउँछन् । त्यसैकारण पनि धान र चामलको आयात बढेको दावी कृषि मन्त्रालयका अधिकारीहरुको छ ।
‘चामलको उपभोगलाई बढ्नुलाई नाकारात्मक भन्न मिल्दैन, तर हाम्रो पहाडमा फल्ने मकै, कोदो, फापर जस्ता उत्पादनलाई खाद्यान्नका उत्पादन नै नगर्ने र उत्पादित खाद्यान्न पनि प्रयोग नगर्ने संस्कारले चामलको निर्भरता बढेको हो’ मन्त्रालयका एक अधिकारी भन्छन् ।
अनलाईनखबरबाट
प्रतिक्रिया दिनुहोस