क्लिक काभ्रे
२०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ४ महिना अघि
५२१ पाठक संख्या
विदेशमा गएर उतै सेटल हुने सपना बुन्नेहरुको लर्कोमा एउटा नाम थियो रुपा प्याकुरेल । नेपालमा केही गर्न सकिदैन भन्ने कुराले उहाँलाई हरपल घचघचाईरहेको हुन्थ्यो । अनि तिनै कुरालाई लिएर विदेशिन प्रेरित भइरहनुहुन्नथ्यो । तर श्रीमान्ले नेपालमा नै बस्नुपर्छ भन्नुहुन्थ्यो ।
उहाँको ईच्छाको मान राख्न प्याकुरेल नेपालमा नै बस्न थाल्नुभयो अनि आजआर्जनको लागि गाउँमा नै बसेर सानो होमस्टे गर्ने योजना बनाउनुभयो । त्यसले विस्तारै गति लिदैँ ठुलो रुप लियो । आर्थिक उपार्जको लागि निकै ठुलो भूमिका होमस्टेले निभाउन थाल्यो । प्याकुरेलले यसैलाई निरन्तरता दिन थाल्नुभयो । वितारै उहाँलाई पनि यसैमा तल बस्न थाल्यो अनि विदेशिने सपना विर्सिन थाल्नुभयो । अहिले होस्टेल संचालन गर्न थालेको १० बर्ष भयो । अहिले विदेशभन्दा नेपाल नै ठिक भन्ने आभाष भएको उहाँ बताउनुहुन्छ ।
१५ कोठे ४० जना क्षमता भएको होमस्टे उहाँले संचालन गरिरहनुभएको छ । समान्यतः मासिक ५० हजारसम्म आम्दानी भइरहेको छ । नमोबुद्ध १ प्याकुरेल गाउँमा रहेको फुलबारी होमस्टेमा अर्गानिक खानेकुरा पाईने भएकाले होमस्टे संचालनमभा सहज भएको छ । होमस्टेमा नेपाली विदेशी दुबै पाहुना राख्ने गरिएको छ । नेपालका विभिन्न ठाउँ र विदेशका अमेरिकलगायतका ठाउँबाट उहाँकोमा पाहुना आउनुहुन्छ । विदेशबाट आउनेहरु प्रायजसो अध्ययनको लागि आउने भएकाले ४/५ दिन नै बस्नुहुन्छ । त्यसले गर्दा सहज नै भएको उहाँको भनाई छ ।
उहाँले आफ्नो होमस्टेमा सबै खानेकुराहरू अर्गानिक व्यवस्थापन गरिरहनुभएको छ । होटल नगइ होमस्टे बस्न आएकाहरूले अर्गानिक खानेकुराहरूको अपेक्षा गर्ने भएकाले अर्गानिक खानेकुराहरू नै व्यवस्थापन गर्न उहाँ लागि पर्नुभएको छ । फार्म पनि भएको र एरिया पनि ठूलो रहेकोले अरूकोभन्दा अलि फरक तरिकाले नै होमस्टे चलिरहेको उहाँ बताउनुहुन्छ ।
प्याकुरेलले आफ्नै नर्सरी पनि खोल्नुभएको छ । पाँच वर्ष भयो उहाँले नर्सरी पनि स्थापना गर्नुभएको छ । संस्कृति फार्म एन्ड रिसर्च सेन्टर नाम दिएर दर्ता सहित पाँच वर्षदेखि उहाँको नर्सरी सञ्चालन भइरहेको छ । स्याउ, कागती, सुन्तला, मुन्तोला, आरु, आलुपखडा, नासपति लगायतका बिरुवाहरू उहाँले बेच्नुहुन्छ । बिरुवा निकालेर नेपालका विभिन्न ठाउँमा निर्यात भइरहेको हुन्छ । आम्दानी पनि राम्रो नै भइरहेको उहाँ बताउनुहुन्छ ।
होमस्टेमा अहिले लगानी पनि एक करोड भन्दा माथि पुगिसकेको छ । होमस्टे चलाउनको लागि सबैभन्दा पहिला सरसफाईमा विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । होमस्टे चलाउनको लागि उहाँको पुरै परिवार लागि परिरहेको छ । यसको अलावा दुईजना कर्मचारी पनि राखेर होमस्टे सञ्चालन भइरहेको छ । होमस्टे चलाएर मासिक ५० हजारसम्म आम्दानी भइरहेको छ । यसमा आफु निकै सन्तुष्ट रहेको उहाँको भनाई छ ।
सफल व्यवसायको साथसाथै प्याकुरेल जनप्रतिनिधि पनि हुनुहुन्छ । पदीय जिम्मेवारीहरूका बावजुद पनि उहाँले व्यवसायलाई सफल ढङ्गले अगाडि बढाइरहनुभएको छ । पढाइको कुरा गर्ने हो भने उहाँले मास्टर गर्नु भएकोे छ । राजनीतिक तवरमा उहाँका पुरै परिवार पहिलेदेखि नै सक्रिय भएकाले उहाँ पनि केही न केही रुपमा आबद्ध हुन थाल्नुभयो । त्यसकारणले २०७९ सालमा भएको स्थानीय सरकारको चुनावमा उहाँ महिला वडा सदस्यको रूपमा निर्वाचित हुनुभयो । गाउँमै बसेर काम गर्ने भएकाले राजनीतिक रूपमा सक्रिय भइयो भनेदेखि गाउँको पनि विकास गर्न सहज हुने भएकाले उहाँले चुनावमा उठ्ने निर्णय भएको थियो । होमस्टेमा पनि दिनहु पाहुनाहरुले भरिएको हुँदैन त्यसकारण आफ्ना पदीय जिम्मेवारीहरू सम्हाल्नको लागि पनि कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । आउजाउ गर्नको लागि पनि वडा कार्यालय टाढा नभएकाले सहज नै भएको उहाँ बताउनुहुन्छ ।
भविष्यको लागि सरकारी तहबाट बलियो नीतिहरू बनाउनुपर्ने उहाँ बताउनुहुन्छ । होमस्टेको लागि आफ्नो क्षेत्र निकै सम्भावित क्षेत्र भएकोले यसमा गर्ने हो भने धेरै राम्रो हुन सक्ने उहाँ बताउनुहुन्छ । तर नगरपालिकाबाट पनि यसको लागि खासै पहल नभएको उहाँको भनाइ छ । जति पर्यटनको लागि सम्भावना छ त्यो अनुसारको योजनाबद्ध रुपमा काम गर्न सकिएन कि भन्ने आफूलाई महसुस भइरहने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘होमस्टे सञ्चालन गर्नको लागि चाहनाले मात्र हुँदैन त्यहाँको वातावरण पनि मिल्नुपर्छ । हाम्रो नमोबुद्ध नगरपालिका पर्यटकीय क्षेत्र भएकोले होमस्टे सञ्चालन गर्ने हो भने ठूलाठूला होटेल भन्दा पनि निकै राम्रो चल्छ । यसको लागि स्थानीय जनप्रतिनिधिदेखि लिएर स्थानीय नागरिकहरू सबै राम्रोसँग नै लाग्नुपर्ने देखिन्छ । यो क्षेत्रलाई अगाडि बढाउनको लागि प्रदेश सरकार, संघीय सरकार र विभिन्न विभिन्न संघसंस्थाहरू नै पनि लाग्न सक्छन् । तर होमस्टेको लागि जति गर्नुपर्ने थियो त्यति गर्न सकिएको छैन । व्यक्ति विशेष रूपमा रहेर जति गर्न सक्छ उसले गरेको छ । त्यो बाहेक अन्य तहबाट खासै भएको छैन ।’
२०७० सालमा विवाह भएको थियो । विवाह पछि उहाँले होमस्टे सुरु गर्नुभएको थियो । अहिले यसले निकै राम्रो गति लिइरहेको छ । आगामी दिनमा यसैलाई निरन्तरता दिने उहाँको योजना पनि छ ।
– पलाञ्चोक साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस